शीत झार्दै भएपनि
बादलको दोलाईँ ओढेर
एक्लो आकाश
मलाई निम्तो दिन्छ
ताराहरूसँग लुकामारी खेल्न
यो नीरव रातमा
Tag Archives: कविता
envy
despite evenness
roses are envious of
peach blossoms
these days
————————-
आफ्नै भनेर के गर्नू?
हिजोआज
गुलाफपनि डाह गर्छ
आरुका फूलहरूको ।
मौनको अभ्यास
निराकार आकाशमा
जब बादलले रङ्ग
अनि जूनले प्राण भर्छन्
म खोज्छु तिम्रो आकृति
अनायासै
त्यतै कतै
अनन्तको अथाह गहिराइमा
प्रतिक्षण खिइँदो
त्यो चन्द्रमा साक्षी छ
शीतको दोलाईँ ओढेर
मनको यान
स्मृतिसागरमा जब खस्छ
अनित्यबोधको यात्रामा तगारो तेर्स्याउँदै
त्यही मन सुटुक्क गुनासो गर्छ
‘किन पाइँन मैलै जन्मदिनको शुभकामना?’
वितर्कको चिसो झोक्का
मनको कानमा निस्लोट पोल लाउँछ
र
तर्साउँछ
शालीनताको मौन (= मौनको शालीन) अभ्यासलाई
गम्भीर अपराधको ढकसँग तौलिदिँदै
सपनामा सल्बलाउने ती रंगीन सर्पहरू
ठुङ्छन् मेरा हात निरन्तर
ऐँठनको संगीतमा रम्दै
र
विज्ञानको चटक
त्यसमा नुन छर्किदिन्छ
अनि
तयार पार्छ मलाई
बुझाउन
अभ्यन्तरका अनेक
गुह्यातिगुह्य कथा
जुन कहिल्यै लेखिने छैनन्
अरूलाई थाहा छैन
(र
म बताउने पनि छैन)
हामी त्यो संसारमा छौँ
जुन निस्पृह छ
संभवत:
अहम्तुष्टिको महायागमा तन्मय
बोधिवृक्षको हावा
खण्डित चेतना जोडिदिन्छ
मायाको तुँवालो फाट्छ
अनि
अनित्यबोधको बाटोमा
फर्कन्छ उही मन
नि:शर्त, निर्लिप्त, निरालम्ब
पुन:
मौनको अभ्यास गर्न ।
Posted with WordPress for BlackBerry.

राजिनामा= i resign
बाटो हिँड्दा लडिएला, उठ्नुपर्छ पनि
बिराउँदा सही बाटो खोज्नुपर्छ फेरि
तारा गन्दा शान्ति मिल्ला, पेट भरिँदैन
शब्दकेस्रा मिठा हुँदै क्लेश मेटिँदैन ।
म जान्दिन
पतिंगरलाई सुन भन्न,
म सक्दिन
पेन्डुलम्को नीरस ट्वाक्ट्वाक्लाई संगीत मान्न
झन्
सक्दैसक्दिन
हत्केलाले सगर थेग्न, अँजुलीमा सागर थाप्न ।
त्यसैले
भो अब
म लेख्दिन
कुनै गीत,
म सुन्दिन
भ्रमको संगीत ।
——————————————
i resign
you may stumble
and
fall down while walking
if so,
you have to get up also
you may go astray at times
but
you get back to track
then after
counting stars may give you a peace of mind
but
it doesn’t fill your stomach
even if the words are sweet,
anguish is not wiped off
i can’t call
fallen, discolouring leaves
gold
i can’t
take pendulum’s monotonous ticktock for music
i noway can
hold the sky with my hands
or
contain the sea in my palms
that is why
now
i don’t write any composition
i don’t heed to the music of illusion
i resign
yes,
i resign from poetry and all nonsense
सूर्य, दर्शनेच्छा र सम्भावना
–“सद्-श्री-विचारका भाव भित्रबाटै उठून् सदा !”
सूर्य देखिँदैन यहाँबाट
आकाश उघ्रिएकै हुनुपर्दछ
बथान बनाएर उडिरहेका होलान् परेवाहरू
हावामा निर्विघ्न पल्टन मार्दै होलान् चीलहरू
म मात्र सम्भावना बोलिरहेछु !
अग्लाइ अझ अग्लिँदैछ,
आफू होचिँदैछु
अनन्तयात्रा गर्न समर्थ छु,
तर केहीपनि देखिँदैन
बथान बनाएर उडिरहेका होलान् परेवाहरू
हावामा निर्विघ्न पल्टन मार्दैहोलान् चीलहरू
म मात्र सम्भावना बोलिरहेछु !
व्योमचुम्बन कुनै महत्ता हैन,
सम्भावना विनाश देखाउँछ
आँखा अघाउन्जेल आकाश हेर्न चहान्छु,
निर्विघ्न छैन चहाना !
गहिराइभन्दा बढी होलान् बाधाहरू
तर आशा सेलाएको छैन ।
तल भासिँदैछ, देखिरहेछु
छानाको भेउ पाउँदिन,
त्यो अकास्सिरहेको हुनुपर्दछ
छायाबाट अनुमान लगाइरहेछु ।
कतै विध्वंशको ताण्डवनाच छ
कतै अशान्तिको क्रूर राज छ
नि:शब्द बाध्यताले हेरिरहेछु ।
द्रवझैँ बगिरहेछ दृष्टि
“व्यापकताको सीमा खै?” सोधिरहेछु ।
कुनै अर्थ छैन भावनाको
भूततत्व किनकि त्यो हैन !
बन्धुत्वको अर्थ एक छेकाइमा मात्र सींमित छ
खै कसोरी भनूँ सूर्य देख्न सक्छु !
वाद र गुटका लहरीहरू
सूर्यप्रार्थनालाई जातीयतामा रोक्न खोज्छन्
खै कसोरी भनूँ सूर्य देख्न सक्छौँ !
साँप डसेर झन् विषालु बनेकाहरू
कपाल समाएर पछार्न खोज्छन्
खै कसोरी भनूँ सूर्य देख्न सक्छु !
अकर्मण्यता बाँचिरहेकाहरू
युगपरिवर्तनको धाक लगाइरहेछन्
विनाशोन्मुख दुष्प्रवृत्तिहरू विकाशको नाम कौलासिहरेछन्
खै कसोरी भनूँ सूर्य देख्न सक्छौँ !
झोल र चोक्टाका लागि लुछाचुँडी भइरहेछ
प्रकृति आफ्नै गतिमा छे
यति भन्न सक्छु ऊ नवसत्ताको रचनामा छे
मात्र नेत्रविष्फारणले के उपलब्धि मिल्ला र !
अस्तित्व प्रश्नित छ
खै कसोरी भनूँ सूर्य देख्न सक्छौँ !
सूर्य देखिँदैन यहाँबाट
आकाश उघ्रिएकै हुनुपर्दछ
बथान बनाएर उडिरहेका होलान् परेवाहरू
हावामा निर्विघ्न पल्टन मार्दै होलान् चीलहरू
म मात्र सम्भावना बोलिरहेछु !
ज्ञान छ, व्यामोहमै अल्झिरहेछ
शब्द छ, नि:शब्दतामै अड्किरहेछ
बुद्धि छ, विवेकसँगको विच्छित्तिपनि छ
खै कसोरी भनूँ सूर्य देख्न सक्छु !
चहाना छ, बाधाहरूपनि छन्
नेत्र छन् , विदीर्ण दृष्टिपनि छ
हामी छौँ, हामीबीच को द्वन्द्वपनि छ
खै कसोरी भनूँ सूर्य देख्न सक्छौँ !
सूर्य देखिँदैन यहाँबाट
आकाश उघ्रिएकै हुनुपर्दछ
बथान बनाएर उडिरहेका होलान् परेवाहरू
हावामा निर्विघ्न पल्टन मार्दै होलान् चीलहरू
म मात्र सम्भावना बोलिरहेछु !
(यो कविता सन् १९९७ मा NIST भएको कविता प्रतियोगिताका लागि लेखिएको हो । म पढेको सो विद्यालयको म्यागजिन् Explorer 98 मा छापिएको पनि थियो । मलाई अझै NIST (शान्ति विद्यागृह ) परिसर , लैनचौरमा यो कविता वाचन गरेको याद छ । हेमांगराज अधिकारी, दैवज्ञराज न्यौपाने र मोहनहिमांशु थापा निर्णायक रहनुभएकाले अलि अकमकिएको थिएँ क्यार ! त्यो जमानामा भिडियो खासै खिचिँदैनथ्यो । कसैले खिचेको भए र अहिले हेर्नपाए गजब रमाइलो हुन्थ्यो होला ! तर प्रथम हुँदाको रमाइलो नै अर्को ! अझै त्यतिबेला शरीर तरंगित भएको सम्झना आउँछ । )
समवेदना, क्रान्तिको भ्रमप्रति
Condolences To My Illusion of Revolution
रक्तक्रान्तिको बिगुल फुकिँदा
सहरको स्कुले केटो मलाई
त्यतिबिघ्न मान्छे मर्छन् भन्ने के थाहा ?
“ओयाङ् हाईको गीत” र “आमा” गम्दै
फ्रान्सेली क्रान्ति र माओका कहानी अरूलाई सुनाउने
अनि
वर्गसंघर्ष र आमूल परिवर्तनको गुड्डी हाँक्ने
जुँगाको रेखी अझै नबसिसकेको मलाई
१४ हजार टाउकाको बलिदान
१४ टाउकेका मुखका लागि सीमित हुन्छ भन्ने के थाहा ?
——————
होक्राङ्मा गुच्चा हार्दा
मैलो भोटोको बाहुलामा सिँगान पुछ्दै
मसँग झगडा गर्ने बेखामान
पढ्न छोडेर हुल्याहा बन्यो,
कहिले मान्छे लुटेर, कहिले कुटेर पटकपटक थुनियो
क्रान्तिकारीहरू काठमाडौं आएपछि ऊ साथ लागेछ
आज ठूलै क्रान्तिकारी मानिएको छ
भोलि मन्त्रीपनि बन्ला ।
मार्क्स्वादसँगै मीठा कविता र गीता पढ्ने म
सधैँ विद्यार्थी बनेँ, पढिनैरहेँ —
कहिले क्रान्ति बुझ्न शास्त्रका ठेलीहरू पढेँ
कहिले क्रान्तिकारीका खबर जान्न पत्रिका पढेँ ।
उनीहरू सहर पसेर सत्तामा बसेपछि
१४ हजार टाउकाको थाङ्ग्रोमा भ्रान्तिको फर्सी फलाएको देखेर बिरक्तिएछु
र
आज कवि भएको छु
भोलि “प्रतिगामी” ठहरिउँला !
—————————–
हिजोआज व्यापारी र मन्त्रीहरूसँग उठबस गर्ने बेखामान
कार्यकर्ताको लस्करसँगै रवाफसाथ नयाँ गाडीमा हुइँकिन्छ,
बाटामा मलाई देखेर जब ऊ हर्न् बजाउँछ
मैलो सफा-टेम्पोबाट झुन्डिँदै भएपनि म हात हल्लाइदिन्छु ।
——————————-
अस्ति भण्डार सफा गर्दा
सिलोटले थिचेर राखेको थोत्रो ट्याङ्काभित्र
हरियो उगाल निस्केको पित्ले लोटामा
बेखामानसँग जितेका “चिम्पुङ्”, “ढिम्पुङ्” र “अमेरिकान्” गुच्चाहरू भेटेँ
माउले खाएका पुराना किताबका खातमा
गोर्कीको आमा र माओको तस्बिर छापेको रातोकिताबपनि भेटेँ
अनि धूलो टक्टक्याउन सफा पत्रिका उज्याउँदा
लम्बोदर कमरेड र उनको नयाँ दरबारअगाडि उभिएको बेखामानको तस्बिर पनि देखेँ ।
—————
भेट हुँदा बेखामान क्रान्तिको सुगा रट्छ
म ङिच्च हाँसिदिन्छु,
केटौले उन्मादमै भएपनि मैले कल्पेको क्रान्ति
बेखामानले खोजेजस्तो आफूले मात्रै जित्न पाउनुपर्ने होक्राङ् थिएन
त्यो क्रान्तिको उपलब्धि लम्बोदर कमरेडको दरबारजस्तो आलिसान थिएन ।
————
भर्खरै भण्डारबाट ती किताबहरू आफ्नै कोठामा ल्याएको छु
गुच्चाहरू टल्काएर सोकेस॒मा थन्काएको छु
बालसखा बेखामान छिमेकमै छ
सायद
लम्बोदर कमरेड्सँग मदिरापान गरेर भर्खर घर फर्किएको छ
क्रान्तिचाहिँ नशामै भएपनि उसको जीब्रोमा झुन्डिएको छ ।
———————–
बेसुरा पारामै सही
मलाई भन्न मनलागेको छ — बेखामान जिन्दावाद !
———————–
बेखामानले कसैलाई मारेको थिएन
न उसले कसैलाई मर्न या मार्न उक्साएको थियो
ऊ त
आफू जित्न चाहन्थ्यो — झेल्ली गरेरै भएपनि
र
अहिले खालि क्रान्तिको फल खाँदैछ
उता
क्रान्तिनायक लम्बोदर कमरेड्
बेखामानले हम्केको चमरमा रम्दैछन् ।
———-
आऊ साथी, हामी फेरि गुच्चा खेलौँ !
—————
समवेदना,
बेफ्वाँक्मा फालिएका १४ हजार ज्यान र तिनका तुहिएका सपनाहरूप्रति
अनि
मेरो क्रान्तिको मतिभ्रमप्रति पनि !
—-
समवेदना, समवेदना, समवेदना ।
०-०
Read Also:
युग जी ता: Craggy Comfort
दिति: Hidden Treasure
अर्चल१: छट्पटीको संसार
त्यो झरी परेको साँझ
वसन्तको आवेग थेग्न नसकेर शायद
आकाशपनि ओइलाइदियो त्यो दिन ।
तुँवालोको च्यादरमा बेरिएर
छिनछिनमा
घामसँग लुकामारी खेल्दो
ओसिलो हावाले आघात त्यो दिन
साँझपख
जब झरी पर्यो
मान्छेको भीडमा हराएको म
आफैँसँग चित्त दुखाउँदै
शायद
अन्तस्करणमा रहेको अपराधबोध पखाल्न
रुझ्दै थिएँ ।
त्यो त्यही ठाउँ थियो
जहाँ हाम्रो अन्तिम भेट भएको थियो ।
ओत लाग्न उभिँदा
भीडले ठेलेर
आधा जीउ पानीको तप्कोले भिज्दा पनि
मैले कुनै गुनासो गरिनँ ।
बाटोमा जमेको दहअगाडि उभिएर
सम्झनाको डुंगा खियाउँदै
जब म तिम्रा न्याना हातहरू सुम्सुम्याउँदै थिएँ
तातो उच्छ्वास अनुभव हुनेगरी
छेउमा उभिएकी केटीले
छाता ओढ्ने निम्तो दिई,
जब म तिम्रा आँखाका नानीमा आफ्नो तस्बिर देख्दै थिएँ
ऊ टाँसिएरै मलाई भिज्नबाट जोगाउँदै थिई ।
झरी परिरह्यो, थामिएन
ऊ बोल्न खोजिरही
तर मैले ध्यान दिनैसकिनँ,
छाताको ओत हट्दा पनि
म सम्झनाका तरेलीहरूमा
तिमीसँगै अल्मलिँदै थिएँ ।
शरदको त्यो कुनै दिन
तिम्रो उत्साहलाई
जब मैले हठात् तुहाइदिएको थिएँ
सम्बन्धको परिभाषा अपूरो जानेर
हामी बीचको दूरी ह्वात्तै बढेको थियो ।
अनि
झरी परेको त्यो दिन
ट्राफिक जाममा अल्झिएका बेला
नाच्दै हिँडेका जन्तीको भीडमा
सिँगारिएको गाडीभित्र
बेहुलीको पहिरनमा तिमीलाई देख्दा
किन किन मन खिन्न भयो ।
मनमनै तिम्रो नयाँ जीवनका लागि शुभकामना दिँदै
आफ्नो बाटो अगाडि बढ्दा
मलाई झरीमा रूझ्न मन लाग्यो
र
मैले अठोट गरेँ :
तिम्रो नाममा कहिल्यै कविता नलेखे पनि
तिम्रो सम्झनामा म एक्लै गीत गाइरहनेछु
अनि
जुरेछ भने कसैको नाम जुराउन कुनै दिन
म तिम्रो नाम सुटुक्क सापट लिइदिनेछु ।
अरूका झरी कविता
ऋचा: नबोलाऊ त्यो छाताको ओतमुनि
दिति: हिँड जाऊँ
नहेर त्यसरी
नमानी लाज मानिसमाझ नहेर त्यसरी
नचिनीकनै नबोलीकनै नहाँस त्यसरी
अन्जान सहरमा
व्यस्ततामा अभ्यस्त मान्छेहरूको
बेपर्वाह भीडमा
अकस्मात्
अपरिचित लागेका दुई आँखाका दृष्टिवाणको
निरन्तर निशाना बनेको थाहा पाउँदा
म
थोरै संकोच र धेरै शंकाले शिथिल बनेँ …..
(पूरा हुन बाँकी छ।)
Catch up with fellow poets on same topic:
A Stranger’s Gaze
Stranger, my stranger

दु:स्वप्न सुन्दरी
कैलो घुम्रेकेश हावामा लहराउँदै
तलाउमा ढुंगा हान्ने
र
उठेका तरंगहरू हेर्दै
निसंकोच अट्टहास गर्ने
बैँसोन्मत्त यौवनाले
आँखा नचाएर
आमन्त्रण गर्दा अभिसारका लागि
मेरो ढुकढुकी एकदमै बढेको थियो ।
म
चुम्बकतिर फलाम तानिए जसरी
आत्मसमर्पणका लागि
निराशंक
तयार भए हुँला ।
अनुरागको तापले तड्पाएको हुँदो हो
स्थितिको परमार्थता हेक्का रहने कुरै भएन
पानीमा परावर्तित आफ्नै छविमा
अनायास
आफ्नै स्त्रीप्रतिरूप देख्दा
विस्मयको अपूर्व भावतरंगले
जीउ यसरी बिझाइदियो कि
जागृत मोह
र
अप्रकट भोगेच्छा अविलम्ब ओइलाए ।
गुह्य पश्चात्तापको नमिठो चुकचुकसँगै
सुकेको मुख
र
कामेको शरीर लिएर ब्युझिँदा
बल्ल निश्चित भयो
त्यो त निरर्थ सपना रहेछ
मेरो पुरुष अहम्मा चोट पुर्याउने ।
तर
मैले बुझ्न सकेको छैन अझै
म आफूलाई स्त्रीरूपमा देख्न चाहन्नथेँ
या
आफैँलाई भोग गर्न नसकिने जानेर विस्मित थिएँ ।