दशैँ – दक्षिणा, आशीर्वचन, अशुद्धि र अनर्थ

फेरि दशैँ आइसकेछ! मङ्गलबार त दशमी रे।

टीकाको दिन धेरै रमाइलो लाग्थ्यो। तर उहिलेका कुरा खुइले!  बालवयको जस्तो उल्लास र उमङ्ग अहिले कता हुनु ?

अब प्रसङ्ग टीका थाप्दा पाइने आशीर्वचनको।

उहिले एक जना गुरुङ्बाजेको हातको टीका थाप्न गइन्थ्यो। उनका छोरा शाही सेनामा थिए। राजा वीरेन्द्रका अङ्गरक्षक। बाबा उनलाइ साइँल्दाइ भन्नुहुन्थ्यो। घरका भित्तामा X आकार बनाएर जोरनाले बन्दुकका जोडा ठोकेको थियो। देख्दा डर लाग्थ्यो।

साइँल्दाइका बूढा बाको शरीर अजङ्गको थियो। तर मान्छे भने धेरै फुर्तिला। नाम पनि फुर्तीमान।

फुर्तीमानबाजे दुई हातले अक्षता बोकेर निधारभरि पूर्वपश्चिम टीका लाइदिन्थे।

“धेरै पढेस्! शास्त्री, आचार्य भएस्! सन्तानले डाँडाकाँडा ढाकून्। धनएेश्वर्यले भरिपूर्ण होओस्?” आठदश रौँ भएका लामा जुङ्गा हल्लाउँदै फुर्तीमानबाजे आशीर्वाद दिन्थे।

ठाडो भाषामा बुझिने आशीर्वाद पाउँदा अचम्म लाग्थ्यो।

शुक्रराज शास्त्री, बाबुराम आचार्यको नामथर सुनिसकेको थिएँ क्यार। अनि केटामान्छेको थर बिहे भएपछि पनि फेरिँदैन भन्ने पनि जानिसकेको हुनुपर्छ। तर फुर्तीमानबाजेको आशीर्वादले थर फेरिने हो कि भनेर हल्का चिन्ता पनि हुन्थ्यो। 
“‘शास्त्री आचार्य’ दुबै थर कसरी हुने? केटीको जस्तो थर फेरियो भने लाज हुन्न र?” तर सोध्ने आँट भए पो!

ऊ जमानामा पाइने रु २० देखि ५० दक्षिणाले भने सबै चिन्ताको क्षतिपूर्ति गरिदिन्थ्यो। प्रायः नाङ्गै नोट हात पर्थ्यो। खामबन्द दक्षिणा भए सकसक लागिहाल्थ्यो ।  नयाँ नोट नछामीकन नगनीकन सन्तोष हुन्नथ्यो। अनि “ट्वाइलेट् जिन्दावाद” !

अँ …दशैँमा टीका लाइदिँदा दिइने आशीर्वचनमा “आयुः द्रोणसुते…” र “लक्ष्मीस्ते पङ्कजाक्षी निवसतु भवने…” धेरै चलेका छन्।

कतिपय ठूलाबडाले कनीकनी फलाकेको संस्कृतका अशुद्ध श्लोक “अर्थ न बर्थ गोविन्द गाई” हुन्छन् । तर कहिले त अति अनर्थकारी । आशीर्वाद हैन, श्रापसरह नै।

“शत्रुक्षयं राघवे”को साटो “शत्रु भवेत्* दानवे” रे! “रामको जस्तो शत्रुनाश गर्ने हुनू” भन्नुको साटो दानवको उल्लेख हुँदा के होला?
“विज्ञानं विदुरे”को साटो “भैजाने * बिधुरे” भनिँदा के हुन्छ? विदुरको जस्तो ज्ञान होओस् भन्नुको साटो विधुर (राँडो) भैजानू ?

*मान्छेपिच्छे फरक शब्दले अतिक्रमण गरेको हुनसक्छ।


कि शुद्ध उच्चारण गर्नू कि नेपालीमै आशीर्वाद दिनू! किन बिरालो बाँधेर सराद्धे गरेजस्तो गर्नू?
गुरुङ्बाजेले दिएजस्तो सोझै बुझिने भाषामा दिए भैहाल्छ।

 

यहाँ

लक्ष्मीस्ते पङ्कजाक्षी निवसतु भवने भारती कण्ठदेशे।
वर्धन्तां बन्धुवर्गास्सकलरिपुगणाः यान्तु पातालमूलम्।।
देशे देशे च कीर्तिः प्रसरतु भवतां कुन्दपुष्पेन्दुशुभ्रा (दिव्यकुन्देन्दुशुभ्रा) ।
जीव त्वं पुत्रपौत्रैस्सकलसुखयुतैर्हायनानां शतैश्च।।

को समछन्दी भावानुवाद गरेको छु।

 

लक्ष्मी तिम्रो घरैमा धनसहित बसून्, कण्ठमा ज्ञानदात्री।
फैलून् ती बन्धु सारा, सकल रिपु उता भासियून् मध्यनर्कै।।
होओस् देशान्तरै कीर्ति जगमग गरी चन्द्रको, फूलको झैँ।
भोग्नू सन्तानसाथै सकल सुख सधैँ, आयु होओस् शताब्दी।।

 

तपाईँहरूलाइ अर्थ बुझ्न काम लाग्ला कि?

उता ट्विटर्‌मा अनुवाद गर्दै, हाल्दै गरेको थिएँ। अनि यता केही भूमिकासहित भण्डार भरेको ।

जाँगर चल्यो भने “आयु..” पनि भोलिपर्सितिर अनुवाद गरौँला। नत्र यो दशैँलाइ यत्ति ल।

तपाईँको दशैँ “खत्रा” रमाइलो होस्। :)

धन्यवाद।


Advertisements

do you have anything to say?

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s