sky too rejoices
as peach tree blossoms all-rose
luring waxing moon
—————————-
श्रीपञ्चमीपछि हिउँद सकियो। शिशिर फेरि आयो, अनि वसन्तको पालो।
बिस्तारै तातो बढ्दैछ। आकाश सफा हुने क्रममा छ। आज मध्याह्नमा शुक्लपक्षको अर्धचन्द्र स्पष्ट देखियो, पूर्वी आकाशमा। दिउँसो उत्तरतिर सेता हिमाल स्पष्ट देखिए, शब्दातीत आनन्द हुने गरी।
हावाको झोक्का, रातबिहानको चिसो र दिउँसोको घाम सहदैँ यी गुलाबी फूलहरू मौरी र भँवरासँग लहसिन्छन्। कर्म पुग्छ अनि जोगिने जति कोपिला बनिदिन्छन्।
फिर्ता नआउने भएपनि जीवनसँग जोडिँदा समय चक्रमा हिँड्छ क्यार! |
अनि यस्तै त हुन्छ जीवन, वनस्पतिको जस्तै नवरङ्गी, अरूको पनि।
—————————-
गुलाबी आरुका फूल
सेता बादल छरिएको निलो आकाश
अर्धचन्द्र
र
सेता हिमाल….
—————————-
म बुझ्दिनँ प्रकृतिको र समयको रहस्य। तर यिनमा भुल्दाको आनन्द शब्दांकन गर्ने मसँग सीप छैन। काव्यमा पोख्ने जाँगर छैन।
र, साँच्चै भन्नुपर्दा यो आनन्द बाँड्ने रहर पनि छैन। (कारण खोतल्नुको अर्थ पनि छैन।)
बरु चरो बन्न पाए हुन्थ्यो….!
एकै वेगमा सबैतिर पुगिदिन्थेँ,
आरुको फूल टाउकोमा सिउरिएरै।
अनित्यता शाश्वत सत्य हो, जीवन र जगत्का सन्दर्भमा। तर पनि जीवनमा जस्तो नित्यता अरू केमा छ होला र?
ब्रह्माण्डको सृष्टिदेखि निरन्तर चलिआएको अनित्यताका दुर्ज्ञेय नियम र आत्मन् एवम् ब्राह्मण बोध गर्न पार लाउनुपर्ने ऊहापोहहरूको गन्ती राख्न सर्वथा सम्भव नहोला। तर शब्दको जटिलतामा ज्ञान र भावनालाई बाँध्नुको अर्थ मैले बुझेको छैन।
खं ब्रह्म । जे छ त्यो नै ब्रह्म हो । वेदको सार हो यो। अनि (ब्रह्म-)शान्तिको कामना चेतनशील मानवजातिको धर्म।
——————
ॐ द्यौ: शान्तिरन्तरिक्षँ शान्ति:
पृथिवी शान्तिराप: शान्तिरोषधय: शान्ति:।
वनस्पतय: शान्तिर्विश्वे देवा: शान्तिर्ब्रह्म शान्ति:
सर्वँ शान्ति: शान्तिरेव शान्ति:
सा मा शान्तिरेधि॥
ॐ शान्ति: शान्ति: शान्ति:॥
——————
आकाश, अन्तरिक्ष, पृथिवी, पानी, औषधि, वनस्पति, सारा संसार, अनि ब्रह्ममा पनि, सबैतिर शान्ति होस्। शान्ति, मात्र शान्ति। अनि त्यो शान्ति मसम्म आइपुगोस्!
शान्ति, शान्ति, शान्ति!