कामना आफ्नै लागि

उडेर जान्छ मन कल्पनाको शहरमा
उर्लेर आउँछ मन भावनाको बगरमा
तैपनि धरती छोडेको छैन
विश्वास गर,
मैले धरती छोडेको छैन !

अतीत बित्यो कसरी त्यो पनि थाहा छैन
तर
सम्झनाका पातला छापहरू किन नमेटिएका होलान् ?

सताइन्छु बेलाबेलामा सम्झनाका चोटहरूले
मन दुख्छ, अघ्घोरै दुख्छ, आँखा रसाउँछन्
तैपनि आँसु किन नआएको होला?
झुक्किएर बग्दा केही थोपा प्रतिविम्ब अतीतको नदेखियोस्
रहेका पातला छापहरू आँसुको छालसँगै बगून् बरु
रोकेर राखेको आँसु भयंकर विष्फोटसँगै नसकियोस्
कामना गर्छु आफैँ, एक्लै, आफ्नै लागि ।

म गलेको छैन, म भागेको छैन, म डराएको छैन
विश्वास गर, म अलिकति पनि फेरिएकै छैन ।
म चहान्छु म नगलुँ, नभागुँ, नडराऊँ
किनकि
जसरी पनि यो युद्ध मैले जित्नुछ ।

(सन् १९९७)

बुद्ध, युद्ध र शान्ति

Buddha, War and Peace

उठेका हातहरू
हतियारसँगै
रणभूमिमा
बुद्धको आँखाको भवमा
बुद्धको हेराइको भवमाExplorer '97 cover page
किन हो कुन्नि !
त्यसै लत्रन्छन् ।

बारुद र बमका बीचमा
बुद्धको उपस्थिति
रगत र रौद्रतामाझ
बुद्धको तरण
शायद भ्रम हो
एक बेअर्थी दर्शन हो ।

भूत, वर्तमान, भविष्य … !!!

काला र गोराको भेदमा
थु्प्रिएका सहस्रौं लाशमाथि
बुद्ध निश्चल उभिरहेछन्,
बेफिक्री हाँसिरहेछन्
शायद सर्वत्र त्यस्तै चाहिरहेछन् ।

सोमालियाको भोकमरीमा
सुकेका शरीर देखेर
बुद्ध आफ्नो तपावस्था सम्झिरहेछन्
अनि भनिरहेछन्

–”तिमीहरू सबै बुद्ध हुनेछौ…. बुद्ध
. .. मजस्तै
प्रतीक्षा गर !”

हुतू र तुत्सीको संघर्षमा
बुद्ध शाक्य-अशाक्यको लडाइँ देखिरहेछन्
अनि
कुनै सिद्धार्थको जन्मको विश्वास दिलाइरहेछन् ।

बोस्निया-हर्ज्गोभिना
चेचेन्या-रुस्
सबैतिर बुद्ध पुगिरहेछन् ।

सर्व् र मुसल्मानको लडाइँमा
बुद्ध शान्तिको पाठ पढाइरहेछन्
प्रत्येक गोला, मिसाइल्मा
आफैँ पड्किरहेछन् !

बुरुन्डी, हाइटी, अल्जेरिया
अफ्गानिस्तान, पाकिस्तान, हिन्दुस्तान
एक्ला बुद्ध जहाँकहीँ पनि पुग्छन्,
पुगिरहेछन् ।

तामिल् र लंकाको झगडामा
बुद्ध घाँटीमा ‘साइनाइड्’ झुन्डाएर
कम्मरमा ‘टायम् बम् फिट्’ गरेर
शान्तिका लागि घोकेर स्वतन्त्रताको नारा
बन्दुक र बारुदसँगै
हुंकार गर्छन्, गर्जन्छन् ।

हिन्दू र मुसल्मानहरू
बुद्ध बुझ्न नै
मन्दिर-मस्जिदको लफडा निकाल्छन्
मारकाट गर्छन्
हिंसा फैलाउँछन् ।

क्याथोलिक्-प्रोटेस्टेन्ट्…
सिया-सुन्नी … !!

बुद्ध शान्त भै हेरिरहन्छन् सबै
शायद बुद्ध त्यही चहान्छन् ।

मध्यपूर्वको अशान्तिमा
बुद्ध आत्मशान्ति पाउँछन्
अनि अघोषित क्षेत्रीय युद्ध मच्चाउँछन् …. ।

डाइनमाइट्को आविष्कारमा रमेका बुद्ध
नोबेको शान्तिपुरस्कारलाई धिक्कार्छन्
हिरोसिमा र नागासाकीका विष्फोटमा
खुशी भै नाचेका बुद्ध
संयुक्त राष्ट्रसंघको शान्तिअभियानलाई सराप्छन्
नेपालको शान्तिक्षेत्रको सोचाइ
सधैँका लागि बिर्साइदिन्छन्
साम्राज्यवादका पक्षपाती बुद्ध
स्वतन्त्रतालाई घृणा गर्छन् ।

“किन थाहा छ?”
–“प्रतीक्षा गर !”

यताका उनी उतिए झै गरेर
लडाइँ चहान्छन् शायद
अनि रम्न चहान्छन्
शान्त रगतको रौद्र उम्लाइमा
पौड्न चहान्छन्
शीतल रगतको ऊष्ण बगाइमा ।

अन्त्यमा बुद्ध
वास्तवमा बुद्ध
पड्कन चहान्छन् पृथ्वीको विष्फोटसँगै
प्यारो बोधिवृक्ष अँगालेर
रक्तरंजित माटो चुम्दै

भूत, वर्तमान, भविष्य…
सधैँ नै
ब्रह्माण्ड-शान्तिका लागि
मात्र ब्रह्माण्ड-शान्तिका लागि !

Buddha, Yuddha ra Shanti(National School of Sciences, NIST,  Lainchaur  मा सन् १९९६/९७ मा भएको कविता प्रतियोगितमा प्रथम घोषित यो कविता Explorer  97 मा प्रकाशित भएको थियो । )


सूर्य, दर्शनेच्छा र सम्भावना

–“सद्-श्री-विचारका भाव भित्रबाटै उठून् सदा !”

हावामा पल्टन मार्दै होलान् चीलहरू


सूर्य देखिँदैन यहाँबाट
आकाश उघ्रिएकै हुनुपर्दछ
बथान बनाएर उडिरहेका होलान् परेवाहरू
हावामा निर्विघ्न पल्टन मार्दै होलान् चीलहरू
म मात्र सम्भावना बोलिरहेछु !

अग्लाइ अझ अग्लिँदैछ,
आफू होचिँदैछु
अनन्तयात्रा गर्न समर्थ छु,
तर केहीपनि देखिँदैन
बथान बनाएर उडिरहेका होलान् परेवाहरू
हावामा निर्विघ्न पल्टन मार्दैहोलान् चीलहरू
म मात्र सम्भावना बोलिरहेछु !

व्योमचुम्बन कुनै महत्ता हैन,
सम्भावना विनाश देखाउँछ
आँखा अघाउन्जेल आकाश हेर्न चहान्छु,
निर्विघ्न छैन चहाना !
गहिराइभन्दा बढी होलान् बाधाहरू
तर आशा सेलाएको छैन ।

तल भासिँदैछ, देखिरहेछु
छानाको भेउ पाउँदिन,
त्यो अकास्सिरहेको हुनुपर्दछ
छायाबाट अनुमान लगाइरहेछु ।

कतै विध्वंशको ताण्डवनाच छ
कतै अशान्तिको क्रूर राज छ
नि:शब्द बाध्यताले हेरिरहेछु ।

द्रवझैँ बगिरहेछ दृष्टि
“व्यापकताको सीमा खै?” सोधिरहेछु ।

कुनै अर्थ छैन भावनाको
भूततत्व किनकि त्यो हैन !
बन्धुत्वको अर्थ एक छेकाइमा मात्र सींमित छ
खै कसोरी भनूँ सूर्य देख्न सक्छु !

वाद र गुटका लहरीहरू
सूर्यप्रार्थनालाई जातीयतामा रोक्न खोज्छन्
खै कसोरी भनूँ सूर्य देख्न सक्छौँ !

साँप डसेर झन् विषालु बनेकाहरू
कपाल समाएर पछार्न खोज्छन्
खै कसोरी भनूँ सूर्य देख्न सक्छु !

अकर्मण्यता बाँचिरहेकाहरू
युगपरिवर्तनको धाक लगाइरहेछन्
विनाशोन्मुख दुष्प्रवृत्तिहरू विकाशको नाम कौलासिहरेछन्
खै कसोरी भनूँ सूर्य देख्न सक्छौँ !

झोल र चोक्टाका लागि लुछाचुँडी भइरहेछ
प्रकृति आफ्नै गतिमा छे
यति भन्न सक्छु ऊ नवसत्ताको रचनामा छे
मात्र नेत्रविष्फारणले के उपलब्धि मिल्ला र !

अस्तित्व प्रश्नित छ
खै कसोरी भनूँ सूर्य देख्न सक्छौँ !

सूर्य देखिँदैन यहाँबाट
आकाश उघ्रिएकै हुनुपर्दछ
बथान बनाएर उडिरहेका होलान् परेवाहरू
हावामा निर्विघ्न पल्टन मार्दै होलान् चीलहरू
म मात्र सम्भावना बोलिरहेछु !

ज्ञान छ, व्यामोहमै अल्झिरहेछ
शब्द छ, नि:शब्दतामै अड्किरहेछ
बुद्धि छ, विवेकसँगको विच्छित्तिपनि छ
खै कसोरी भनूँ सूर्य देख्न सक्छु !

चहाना छ, बाधाहरूपनि छन्
नेत्र छन् , विदीर्ण दृष्टिपनि छ
हामी छौँ, हामीबीच को द्वन्द्वपनि छ
खै कसोरी भनूँ सूर्य देख्न सक्छौँ !

सूर्य देखिँदैन यहाँबाट
आकाश उघ्रिएकै हुनुपर्दछ
बथान बनाएर उडिरहेका होलान् परेवाहरू
हावामा निर्विघ्न पल्टन मार्दै होलान् चीलहरू
म मात्र सम्भावना बोलिरहेछु !

Explorer 98

Explorer 98

(यो कविता सन् १९९७ मा  NIST भएको कविता प्रतियोगिताका लागि लेखिएको हो ।  म पढेको सो विद्यालयको म्यागजिन् Explorer 98 मा छापिएको पनि थियो । मलाई अझै NIST (शान्ति विद्यागृह ) परिसर , लैनचौरमा यो कविता वाचन गरेको याद छ ।  हेमांगराज अधिकारी, दैवज्ञराज न्यौपाने र मोहनहिमांशु थापा निर्णायक रहनुभएकाले अलि अकमकिएको थिएँ क्यार !   त्यो जमानामा भिडियो खासै खिचिँदैनथ्यो ।  कसैले खिचेको भए र अहिले हेर्नपाए  गजब रमाइलो हुन्थ्यो होला !  तर प्रथम हुँदाको रमाइलो नै अर्को ! अझै त्यतिबेला शरीर तरंगित भएको सम्झना आउँछ । )

त्यो झरी परेको साँझ

वसन्तको आवेग थेग्न नसकेर शायद
आकाशपनि ओइलाइदियो त्यो दिन ।

तुँवालोको च्यादरमा बेरिएर
छिनछिनमा
घामसँग लुकामारी खेल्दो
ओसिलो हावाले आघात त्यो दिन
साँझपख
जब झरी पर्यो
मान्छेको भीडमा हराएको म
आफैँसँग चित्त दुखाउँदै
शायद
अन्तस्करणमा रहेको अपराधबोध पखाल्न
रुझ्दै थिएँ ।

त्यो त्यही ठाउँ थियो
जहाँ हाम्रो अन्तिम भेट भएको थियो ।

ओत लाग्न उभिँदा
भीडले ठेलेर
आधा जीउ पानीको तप्कोले भिज्दा पनि
मैले कुनै गुनासो गरिनँ ।

बाटोमा जमेको दहअगाडि उभिएर
सम्झनाको डुंगा खियाउँदै
जब म तिम्रा न्याना हातहरू सुम्सुम्याउँदै थिएँ
तातो उच्छ्वास अनुभव हुनेगरी
छेउमा उभिएकी केटीले
छाता ओढ्ने निम्तो दिई,
जब म तिम्रा आँखाका नानीमा आफ्नो तस्बिर देख्दै थिएँ
ऊ टाँसिएरै मलाई भिज्नबाट जोगाउँदै थिई ।

झरी परिरह्यो, थामिएन
ऊ बोल्न खोजिरही
तर मैले ध्यान दिनैसकिनँ,
छाताको ओत हट्दा पनि
म सम्झनाका तरेलीहरूमा
तिमीसँगै अल्मलिँदै थिएँ ।

शरदको त्यो कुनै दिन
तिम्रो उत्साहलाई
जब मैले हठात् तुहाइदिएको थिएँ
सम्बन्धको परिभाषा अपूरो जानेर
हामी बीचको दूरी ह्वात्तै बढेको थियो ।

अनि
झरी परेको त्यो दिन
ट्राफिक जाममा अल्झिएका बेला
नाच्दै हिँडेका जन्तीको भीडमा
सिँगारिएको गाडीभित्र
बेहुलीको पहिरनमा तिमीलाई देख्दा
किन किन मन खिन्न भयो ।

मनमनै तिम्रो नयाँ जीवनका लागि शुभकामना दिँदै
आफ्नो बाटो अगाडि बढ्दा
मलाई झरीमा रूझ्न मन लाग्यो

मैले अठोट गरेँ :
तिम्रो नाममा कहिल्यै कविता नलेखे पनि
तिम्रो सम्झनामा म एक्लै गीत गाइरहनेछु
अनि
जुरेछ भने कसैको नाम जुराउन कुनै दिन
म तिम्रो नाम सुटुक्क सापट लिइदिनेछु ।

अरूका झरी कविता
ऋचा: नबोलाऊ त्यो छाताको ओतमुनि
दिति: हिँड जाऊँ

बादलले छेकेको घाम

अभिशप्त वर्तमान

काला बादलले ढाकिएको

गम्भीर आकाशले

विषवर्षा गरे पनि नगरे पनि

ज्वालामुखी विष्फोटपश्चात्

धीर धरणीबाट

फेरि

तातो लाभाको भयंकर फोहोरा छुटे पनि नछुटे पनि

टायर्‌को विषाक्त कालो धूँवा

सडकनै डढ्ने रापमाझ

मेरा धुन्धुकारी मामा र काकाहरूले

मेरो स्वाभिमानको सगरमाथाको अपहरण हिजै गरिसके

मेरा आफन्तहरूले

मलाई कबाडको मोलमा हिजो नै लिलाम गरिसके ।


Protected: आँशु बगेर के भो आँखा त रित्तिँदैन

This post is password protected. To view it please enter your password below: