समवेदना, क्रान्तिको भ्रमप्रति

Condolences To My Illusion of Revolution

रक्तक्रान्तिको बिगुल फुकिँदा
सहरको स्कुले केटो मलाई
त्यतिबिघ्न मान्छे मर्छन् भन्ने के थाहा ?
“ओयाङ् हाईको गीत” र “आमा” गम्दै
फ्रान्सेली क्रान्ति र माओका कहानी अरूलाई सुनाउने
अनि
वर्गसंघर्ष र आमूल परिवर्तनको गुड्डी हाँक्ने
जुँगाको रेखी अझै नबसिसकेको मलाई
१४ हजार टाउकाको बलिदान
१४ टाउकेका मुखका लागि सीमित हुन्छ भन्ने के थाहा ?
——————

होक्रामा गुच्चा हार्दा
मैलो भोटोको बाहुलामा सिँगान पुछ्दै
मसँग झगडा गर्ने बेखामान
पढ्न छोडेर हुल्याहा बन्यो,
कहिले मान्छे लुटेर, कहिले कुटेर पटकपटक थुनियो
क्रान्तिकारीहरू काठमाडौं आएपछि ऊ साथ लागेछ
आज ठूलै क्रान्तिकारी मानिएको छ
भोलि मन्त्रीपनि बन्ला ।

मार्क्स॒वादसँगै मीठा कविता र गीता पढ्ने म
सधैँ विद्यार्थी बनेँ, पढिनैरहेँ –
कहिले क्रान्ति बुझ्न शास्त्रका ठेलीहरू पढेँ
कहिले क्रान्तिकारीका खबर जान्न पत्रिका पढेँ ।
उनीहरू सहर पसेर सत्तामा बसेपछि
१४ हजार टाउकाको थाङ्ग्रोमा भ्रान्तिको फर्सी फलाएको देखेर बिरक्तिएछु

आज कवि भएको छु
भोलि “प्रतिगामी” ठहरिउँला !
—————————–

आजभोलि व्यापारी र मन्त्रीहरूसँग उठबस गर्ने बेखामान
कार्यकर्ताको लस्करसँगै रवाफसाथ नयाँ गाडीमा हुइँकिन्छ,
बाटामा मलाई देखेर जब ऊ हर्न् बजाउँछ
मैलो सफाटेम्पोबाट झुन्डिँदै भएपनि म हात हल्लाइदिन्छु ।

——————————-
अस्ति भण्डार सफा गर्दा
सिलोटले थिचेर राखेको थोत्रो ट्याङ्काभित्र
हरियो उगाल निस्केको पित्ले लोटामा
बेखामानसँग जितेका “चिम्पुङ्”, “ढिम्पुङ्” र “अमेरिकान्” गुच्चाहरू भेटेँ
माउले खाएका पुराना किताबका खातमा
गोर्कीको आमा र माओको तस्बिर छापेको रातोकिताबपनि भेटेँ
अनि धूलो टक्टक्याउन सफा पत्रिका उज्याउँदा
लम्बोदर कमरेड र उनको नयाँ दरबारअगाडि उभिएको बेखामानको तस्बिर पनि देखेँ ।

—————
भेट हुँदा बेखामान क्रान्तिको सुगा रट्छ
म ङिच्च हाँसिदिन्छु,
केटौले उन्मादमै भएपनि मैले कल्पेको क्रान्ति
बेखामानले खोजेजस्तो आफूले मात्रै जित्न पाउनुपर्ने होक्राङ् थिएन
त्यो क्रान्तिको उपलब्धि लम्बोदर कमरेडको दरबारजस्तो आलिसान थिएन ।

————
भर्खरै भण्डारबाट ती किताबहरू आफ्नै कोठामा ल्याएको छु
गुच्चाहरू टल्काएर सोकेस॒मा थन्काएको छु
बालसखा बेखामान छिमेकमै छ
सायद
लम्बोदर कमरेसँग मदिरापान गरेर भर्खर घर फर्किएको छ
क्रान्तिचाहिँ नशामै भएपनि उसको जीब्रोमा झुन्डिएको छ ।

———————–
बेसुरा पारामै सही
मलाई भन्न मनलागेको छ — बेखामान जिन्दावाद !
———————–
बेखामानले कसैलाई मारेको थिएन
न उसले कसैलाई मर्न या मार्न उक्साएको थियो
ऊ  त
आफू जित्न चाहन्थ्यो — झेल्ली गरेरै भएपनि

अहिले खालि क्रान्तिको फल खाँदैछ
उता
क्रान्तिनायक लम्बोदर कमरे
बेखामानले हम्केको चमरमा रम्दैछन् ।

———-
आऊ साथी, हामी फेरि गुच्चा खेलौँ  !
—————
समवेदना,
बेफ्वाँक्मा फालिएका १४ हजार ज्यान र तिनका तुहिएका सपनाहरूप्रति
अनि
मेरो क्रान्तिको मतिभ्रमप्रति पनि !
—-
समवेदना, समवेदना, समवेदना ।

०-०

Read Also:
युग जी ता: Craggy Comfort
दिति:      Hidden  Treasure 
अर्चल१:    छट्पटीको संसार