त्यो झरी परेको साँझ

वसन्तको आवेग थेग्न नसकेर शायद
आकाशपनि ओइलाइदियो त्यो दिन ।

तुँवालोको च्यादरमा बेरिएर
छिनछिनमा
घामसँग लुकामारी खेल्दो
ओसिलो हावाले आघात त्यो दिन
साँझपख
जब झरी पर्यो
मान्छेको भीडमा हराएको म
आफैँसँग चित्त दुखाउँदै
शायद
अन्तस्करणमा रहेको अपराधबोध पखाल्न
रुझ्दै थिएँ ।

त्यो त्यही ठाउँ थियो
जहाँ हाम्रो अन्तिम भेट भएको थियो ।

ओत लाग्न उभिँदा
भीडले ठेलेर
आधा जीउ पानीको तप्कोले भिज्दा पनि
मैले कुनै गुनासो गरिनँ ।

बाटोमा जमेको दहअगाडि उभिएर
सम्झनाको डुंगा खियाउँदै
जब म तिम्रा न्याना हातहरू सुम्सुम्याउँदै थिएँ
तातो उच्छ्वास अनुभव हुनेगरी
छेउमा उभिएकी केटीले
छाता ओढ्ने निम्तो दिई,
जब म तिम्रा आँखाका नानीमा आफ्नो तस्बिर देख्दै थिएँ
ऊ टाँसिएरै मलाई भिज्नबाट जोगाउँदै थिई ।

झरी परिरह्यो, थामिएन
ऊ बोल्न खोजिरही
तर मैले ध्यान दिनैसकिनँ,
छाताको ओत हट्दा पनि
म सम्झनाका तरेलीहरूमा
तिमीसँगै अल्मलिँदै थिएँ ।

शरदको त्यो कुनै दिन
तिम्रो उत्साहलाई
जब मैले हठात् तुहाइदिएको थिएँ
सम्बन्धको परिभाषा अपूरो जानेर
हामी बीचको दूरी ह्वात्तै बढेको थियो ।

अनि
झरी परेको त्यो दिन
ट्राफिक जाममा अल्झिएका बेला
नाच्दै हिँडेका जन्तीको भीडमा
सिँगारिएको गाडीभित्र
बेहुलीको पहिरनमा तिमीलाई देख्दा
किन किन मन खिन्न भयो ।

मनमनै तिम्रो नयाँ जीवनका लागि शुभकामना दिँदै
आफ्नो बाटो अगाडि बढ्दा
मलाई झरीमा रूझ्न मन लाग्यो

मैले अठोट गरेँ :
तिम्रो नाममा कहिल्यै कविता नलेखे पनि
तिम्रो सम्झनामा म एक्लै गीत गाइरहनेछु
अनि
जुरेछ भने कसैको नाम जुराउन कुनै दिन
म तिम्रो नाम सुटुक्क सापट लिइदिनेछु ।

अरूका झरी कविता
ऋचा: नबोलाऊ त्यो छाताको ओतमुनि
दिति: हिँड जाऊँ

बादलले छेकेको घाम